
काठमाडौं। स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ।
सीआईबीको टोलीले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार जोशीमाथि स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनका क्रममा अनियमितता भएको र सरकारको अधिकारमा पर्ने सम्पत्तिमा असर पर्ने गरी कार्य गरिएको आरोप छ।
उक्त कम्पनीले नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि यसको अनुमति पत्र स्वतः रद्द भएको थियो। त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको सम्पत्ति नियन्त्रणमा लिएको थियो।
तर, सोही सम्पत्ति व्यवस्थापनको क्रममा बेइमानीपूर्ण कार्य भएको भन्दै अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
हाल कम्पनी बन्द अवस्थामा रहेको छ भने पक्राउ परेका जोशीमाथि थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।
सीआईबीले मुद्दासँग सम्बन्धित कागजात र आर्थिक कारोबारका विवरणहरू संकलन गरेर अनुसन्धानलाई अघि बढाइरहेको जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित