नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

काठमाडौं । गगन थापा ले पार्टीको भ्रातृ संस्था नेपाल महिला संघ को अध्यक्षमा मीना खरेल लाई नियुक्त गरेका छन्।

म्याद समाप्त भएर स्वतः विघटन भएको महिला संघलाई पुनर्गठन गर्दै सक्रिय बनाउन सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम खरेललाई उक्त जिम्मेवारी दिएका हुन्।

नवनियुक्त अध्यक्ष खरेललाई १७ बुँदे कार्यादेशसहित निश्चित समयभित्र महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ।

निर्णयअनुसार आगामी २०८३ जेठ १५ गतेभित्र सबै क्लस्टरको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्नेछ। साथै, संगठन सुदृढीकरणका लागि आवश्यकता अनुसार पदाधिकारी चयन तथा विभिन्न उपसमिति गठन गर्ने अधिकार पनि अध्यक्षलाई प्रदान गरिएको छ।

त्यसैगरी, तल्लो तहका संरचनालाई व्यवस्थित बनाउन रिक्त वा पुनर्गठन गर्नुपर्ने समितिहरूलाई २०८३ साउन मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति गठन गर्न निर्देशन दिइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार नवगठित महिला संघलाई २०८३ फागुन १५ गतेभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व हस्तान्तरण गर्ने कार्यादेश दिइएको छ।

लामो समयदेखि तदर्थ अवस्थामा रहेको महिला संघले नयाँ नेतृत्व पाएसँगै कांग्रेसको महिला राजनीतिमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार