जावलाखेलस्थित मुन म्यानपावरमा श्रम मन्त्रालयको छापा, ४३७ पासपोर्ट र सात लाख ९० हजार रुपैयाँ बरामद

काठमाडौं । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ।

श्रममन्त्री रामजी यादव का स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले शुक्रबार म्यानपावर कम्पनीमा अनुगमन तथा छापा मारेको हो।

छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र ७ लाख ९० हजार रुपैयाँ नगद बरामद गरिएको जनाइएको छ। बरामद रकमको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयबाट सूचना प्राप्त भएपछि तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको उनले बताए। मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा सक्रिय रहने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार