
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइन्। उनले भनिन्, “सबै तयारी पूरा भइसकेको छ । प्राविधिक रूपमा कुनै समस्या नआए मंगलबारसम्म नतिजा प्रकाशित गर्छौं ।”
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो ।
यस वर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना र ग्रेडवृद्धितर्फ ७० हजार ८ सय ५५ जना सहभागी भएका हुन् । परीक्षामा छात्राको सङ्ख्या छात्रभन्दा बढी रहेको बोर्डले जनाएको छ ।
तथ्याङ्कअनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा अन्य सात जना परीक्षामा सहभागी भएका थिए ।
यस वर्ष जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिएका थिए । देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।
यस पटक परीक्षा सञ्चालन गरिएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको बोर्डले जनाएको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित