स्मार्ट टेलिकमको पाँच अर्ब घोटाला प्रकरणमा इन्भेष्टमेण्ट मेगा बैंकका सिइओ पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकमसँग जोडिएको करिब पाँच अर्ब रुपैयाँ बराबरको वित्तीय अनियमितता प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतीप्रकाश पाण्डे पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन तथा लिलामी प्रक्रियामा अनियमितता भएको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।

सीआईबीका अनुसार सरकारी स्वामित्वमा जानुपर्ने सम्पत्ति गलत प्रक्रियामार्फत लिलामी गरी निजी क्षेत्रलाई बिक्री गरिएको विषयमा विस्तृत छानबिन भइरहेको छ । बैंकको भूमिका समेत शंकास्पद देखिएपछि उच्च तहसम्म अनुसन्धान विस्तार गरिएको जनाइएको छ ।

यसअघि उक्त प्रकरणमा स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशीसहित तीन जना पक्राउ परिसकेका छन् ।

प्रहरी स्रोतका अनुसार अनुसन्धान जारी रहेकाले थप व्यक्तिहरूको संलग्नता र आर्थिक कारोबारबारे विवरण संकलन भइरहेको छ । आवश्यक प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार