
काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछाने ले अष्ट्रेलियन बलर मिचेल स्टार्क को कीर्तिमान तोडेका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान कायम गरेका हुन्।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा २ विकेट लिएपछि सन्दीपले मात्र ७३ खेलमै १५० विकेट पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए।
सन्दीप ODI क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीसमेत हुन्। उनले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ODI डेब्यु गरेका २५ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ७३ खेलमा १५१ विकेट लिइसकेका छन्। उनले ब्याटिङतर्फ ५०० रन पनि बनाएका छन्।
यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीपले ७४ खेलमा १३६ विकेट लिएका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित