
काठमाडौं । एमालेभित्र फेरि एकपटक पुरानै शक्ति संघर्ष सतहमा आएको छ । तर यो संघर्ष विचारको भन्दा पनि प्रभाव, नियन्त्रण र उत्तराधिकारको खेलजस्तो देखिन थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता कहिले रोक्ने, कहिले फुकुवा गर्ने निर्णय गरेपछि एमालेभित्र नयाँ तरंग पैदा भएको छ ।
राजनीतिक वृत्तमा अहिले एउटा प्रश्न तीव्र छ— आखिर ओलीले विद्याको सदस्यता किन खोसे ? अनि किन फिर्ता दिए ?
यसको उत्तर एमालेको पछिल्लो शक्ति समीकरणमै लुकेको देखिन्छ ।
विद्या भण्डारी राष्ट्रपति पदबाट बाहिरिएपछि एमालेभित्र एउटा शक्तिशाली समूहले उनलाई भविष्यको नेतृत्व विकल्पका रूपमा हेर्न थालेको थियो । पार्टीभित्र पुस्तान्तरणको बहस चर्किंदै जाँदा धेरै कार्यकर्ताले ओलीपछिको अनुहार विद्यालाई बनाउन खोजे । तर त्यही संकेत पाएपछि ओली सतर्क बने ।
राजनीतिमा ओलीलाई सबैभन्दा राम्ररी चिन्ने पात्रमध्ये विद्या पनि एक मानिन्छिन् । किनकि उनलाई राष्ट्रपति बनाउनेदेखि शक्तिको केन्द्रमा पुर्याउने काम स्वयं ओलीले नै गरेका थिए । तर समयसँगै त्यही सम्बन्ध प्रतिस्पर्धामा बदलिन थाल्यो ।
एमालेभित्र चर्चा छ— जबसम्म विद्या शीतलनिवासमा थिइन्, ओलीलाई उनी सुरक्षित लाग्थिन् । तर पार्टी राजनीतिमा फर्किने संकेत गरेपछि ओलीले उनलाई सम्भावित चुनौतीका रूपमा हेर्न थाले । त्यसपछि अचानक सदस्यता विवाद सुरु भयो ।
पार्टीका केही नेताले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने तर्क अघि सारे । कसैले संवैधानिक मर्यादा सम्झाए, कसैले संगठन नबुझेको आरोप लगाए । तर भित्री रूपमा भने मुख्य चिन्ता एउटै थियो— यदि विद्या सक्रिय भइन् भने एमालेभित्र ओलीविरुद्ध नयाँ ध्रुवीकरण हुन सक्छ ।
यही कारण सदस्यता होल्ड गरियो भन्ने बुझाइ एमाले वृत्तमा बलियो छ ।
तर राजनीति स्थिर हुँदैन । पछिल्लो समय ओलीमाथि पार्टीभित्रै दबाब बढ्न थाल्यो । चुनावी परिणाम, पुस्तान्तरणको माग र नेतृत्व परिवर्तनको बहसले बालकोटलाई असहज बनायो । सचिवालय तहसम्म नेतृत्व पुनर्गठनको आवाज पुग्न थालेपछि ओलीले नयाँ रणनीति रोजेको विश्लेषण भइरहेको छ ।
त्यसपछि एकाएक विद्यासँग सम्बन्ध नरम बन्यो । भेटघाट बाक्लियो । संवाद सुरु भयो । अनि अन्ततः रोकिएको सदस्यता फुकुवा गरियो ।
यसले एमालेभित्र एउटा स्पष्ट सन्देश दिएको छ— पार्टीमा अन्तिम निर्णय अझै पनि ओलीकै हातमा छ । कसलाई माथि उठाउने, कसलाई रोक्ने, कसलाई अवसर दिने भन्ने शक्ति उनैसँग केन्द्रित छ ।
तर अर्को प्रश्न अझ गम्भीर बनेको छ । यदि ओली र विद्या फेरि एउटै मोर्चामा उभिए भने एमालेभित्र पुस्तान्तरणको बहस के हुन्छ ? युवा पुस्ताले खोजेको नयाँ नेतृत्व कहाँ जान्छ ?
कतिपय विश्लेषकहरू भन्छन्, अहिले एमाले विचारभन्दा बढी व्यक्तिकेन्द्रित राजनीतिमा फसेको छ । पार्टीभित्र वैचारिक बहसभन्दा पनि शक्ति सन्तुलनको खेल चलिरहेको छ । यही कारण सदस्यता फुकुवाको घटनालाई सामान्य प्रशासनिक प्रक्रिया नभई ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
राजनीतिक वृत्तमा त यहाँसम्म चर्चा छ— ओलीले विद्यालाई रोक्दा पनि आफ्नो शक्ति देखाए, फुकाउँदा पनि आफ्नो नियन्त्रण प्रमाणित गरे ।
अब प्रश्न एमाले कार्यकर्तासामु छ— पार्टी नयाँ पुस्तातर्फ जान्छ कि पुरानै शक्ति गठबन्धनको घेराभित्र घुमिरहन्छ ?
समयले त्यसको उत्तर दिनेछ । तर अहिलेका घटनाले एउटा कुरा भने स्पष्ट देखाएको छ— एमालेभित्रको असली राजनीति अझै पनि बालकोटकै वरिपरि घुमिरहेको छ ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित