मैं भी कक्रोच’ अभियानले भारतमा तरंग, लाखौं युवा सीजेपीसँग जोडिए

काठमाडौं । ‘कक्रोच जनता पार्टी’ (सीजेपी) लाई इन्स्टाग्राममा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) भन्दा दोब्बर बढीले फलो गरेका छन् । शुक्रबारसम्म सीजेपीका करिब २ करोड ९ लाख फलोअर छन् भने भाजपाको इन्स्टाग्राम एकाउन्टमा ८८ लाख फलोअर छन् । ‘कक्रोच जनता पार्टी’ का नाममा वेबसाइट पनि सञ्चालनमा आएको छ । पार्टी स्थापना भएको ६ दिनमै वेबसाइटअनुसार ७२ घण्टाभित्र १ लाखभन्दा बढीले सदस्यता लिइसकेका छन् ।

वेबसाइटमा दुई जना लोकसभा सदस्य पार्टीको बोर्डमा रहेको उल्लेख छ । महुआ मोइत्रा र कीर्ति आजाद ले सार्वजनिक रूपमा पार्टीलाई समर्थन जनाएका छन् । मोइत्राले सीजेपीको पोस्ट सेयर गर्दै आफू पनि ‘एन्टी–नेसनल पार्टी’ को सदस्य बन्न चाहेको बताएकी थिइन् । त्यस्तै आजादले पार्टीमा सहभागी हुन आवश्यक योग्यता के हो भनेर प्रश्न गरेका थिए । त्यसको जवाफमा सीजेपीले लेखेको थियो, ‘१९८३ को विश्वकप जित्नु नै काफी छ ।’

भारतले 1983 Cricket World Cup जित्दा कपिल देव को कप्तानीमा कीर्ति आजाद पनि टोलीका सदस्य थिए ।

अहिले भारतमा ‘मैं भी कक्रोच’ अर्थात् ‘म पनि कक्रोच’ अभियान चलिरहेको छ । सीजेपीले आफूलाई अल्छी र बेरोजगार युवाको आवाजका रूपमा प्रस्तुत गरेको छ । भारतीय प्रधानन्यायाधीश सूर्यकान्त ले युवाहरूलाई ‘अल्छी’ र ‘कक्रोच’ सँग तुलना गरेको भनाइपछि अभियानले प्रतीकात्मक रूप लिएको हो ।

सीजेपीले आफूलाई ‘युवाद्वारा युवाका लागि बनाइएको राजनीतिक मञ्च’ भनेर दाबी गरेको छ । केही दिनमै लाखौं युवा यस अभियानमा जोडिएका छन् । पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क अध्ययनरत ३० वर्षीय विद्यार्थी अभिजित दिपके हुन् । उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी (आप) को सामाजिक सञ्जाल टोलीमा स्वयंसेवकका रूपमा कार्यरत थिए । सीजेपीले आफूलाई ‘वर्तमान व्यवस्थाबाट निराश मानिसहरूको आवाज’ भएको दाबी गरेको छ ।

पार्टीको नामलाई लिएर विभिन्न टिप्पणी पनि भइरहेका छन् । कतिपयले यसलाई प्रधानन्यायाधीश सूर्यकान्तको अभिव्यक्तिसँग जोडेर हेरेका छन् । उनले भनेका थिए, “केही युवा कक्रोचजस्ता हुन्छन् । जागिर नपाएपछि उनीहरू मिडिया, सामाजिक सञ्जाल वा आरटीआई अभियन्ता बनेर व्यवस्थामाथि आक्रमण गर्छन् ।” पछि उनले आफ्नो भनाइ तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेका थिए ।

यस विषयमा संस्थापक अभिजित दिपकेले व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले भने, “कक्रोच जनता पार्टीको संस्थापकका रूपमा म यस स्पष्टीकरणको निन्दा गर्छु ।”

सीजेपीले एआईद्वारा तयार गरिएको पार्टी एन्थम पनि सार्वजनिक गरेको छ, जसमा भनिएको छ, “We are Cockroach Party, we are children of a burning city.” साथै पार्टीले पहिलो ‘जेन–जी सम्मेलन’ भर्चुअल रूपमा आयोजना गर्ने जनाएको छ ।

हालै भारतमा चर्चामा रहेको राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) र CBSE परीक्षामा भएको पेपर लिक तथा अनियमितताबारे पनि सीजेपीले आवाज उठाएको छ । पार्टीले पाँचबुँदे घोषणापत्र सार्वजनिक गर्दै अवकाशपछि कुनै पनि प्रधानन्यायाधीशलाई राज्यसभा सदस्य नबनाउने माग अघि सारेको छ ।

भारतका ४६औं प्रधानन्यायाधीश रञ्जन गोगोई अवकाश पाएको केही समयमै राज्यसभा सदस्य बनेका थिए । उनी १७ नोभेम्बर २०१९ मा प्रधानन्यायाधीशबाट अवकाश भएका थिए भने १७ मार्च २०२० मा राज्यसभा सदस्य नियुक्त भएका थिए ।

सीजेपीको अर्को प्रस्तावअनुसार कुनै वैध मतदातालाई मतदाता सूचीबाट हटाइए प्रमुख निर्वाचन आयुक्तमाथि यूएपीए कानुनअन्तर्गत कारबाही हुनुपर्नेछ । संसद् र मन्त्रिपरिषद्मा महिलाका लागि ५० प्रतिशत आरक्षण तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता पनि घोषणापत्रमा समावेश गरिएको छ । साथै दल परिवर्तन गर्ने सांसद वा विधायकलाई २० वर्षसम्म निर्वाचन लड्न नदिने व्यवस्था ल्याउने घोषणा पनि गरिएको छ ।

सीजेपीका संस्थापक अभिजितले आफूहरूको आन्दोलन नेपाल वा बंगलादेशको जेन–जी आन्दोलनजस्तो नहुने बताएका छन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “भारतका जेन–जीसँग नेपाल र बंगलादेशका आन्दोलनको तुलना गरेर उनीहरूको अपमान नगर्नुहोस् । यहाँका युवा परिपक्व, सचेत र राजनीतिक रूपमा जागरूक छन् । उनीहरूलाई आफ्ना संवैधानिक अधिकार तथा लोकतान्त्रिक र शान्तिपूर्ण असहमतिको अभ्यास राम्रोसँग थाहा छ ।”

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

ताजा समाचार