
काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीहरूले दबाब दिइरहेका बेला शाक्यले पनि त्यसमा साथ दिएकी हुन्।
पूर्वउपाध्यक्षसमेत रहेकी शाक्यले ‘शास रहुन्जेल एमालेको अध्यक्ष भइरहने’ ओलीको सोच गलत भएको टिप्पणी गरेकी छन्।
उनले भनिन्, “कमरेड अध्यक्ष केपी शर्मा ओली, तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। अहिले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपछि गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज कमजोर अवस्थामा पुगेको छ। तर पुनः एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ।”
शाक्यले पार्टी कमजोर अवस्थामा पुगे पनि ओलीको दम्भ, घमण्ड र गुटगत सोचमा परिवर्तन नआएको आरोप लगाइन्।
उनले भनिन्, “बलिदानको रगतले जन्मिएको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताको त्याग र संघर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन, न त तपाईंको गुटको कम्पनी हो। त्यसैले ‘शास रहुन्जेल एमालेको अध्यक्ष भइरहने’ सोच गलत छ। अहिले हामी एक्काइसौँ शताब्दीमा छौँ। आजको समयको माग विचार, सामूहिकता, संघर्ष र इमानदारीका साथ पार्टी नेतृत्व गर्नु हो।”
उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै यही बैठकबाट सम्मानपूर्वक अध्यक्ष पदबाट बिदा लिन ओलीलाई सुझाव दिइन्।
“नेकपा एमालेलाई पुनर्जीवित गर्न सकिन्छ। अन्धकारतर्फ धकेलिएको एमालेलाई फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकडीमा समय खर्च गर्ने बेला होइन,” उनले भनिन्, “देश र जनताको हितमा निःस्वार्थ भावनाले काम गर्ने समय आएको छ। आजको आवश्यकता पनि यही हो।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित