
काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीका महामन्त्री गगन थापालाई वडा सभापतिहरूमाथि कारबाही नगर्न चेतावनी दिएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै बस्नेतले वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्ने चेतावनी दिए।
उनले भने, “तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई पनि हटाउनुभएको छ, अलग्याउनुभएको छ, यदि उहाँहरूले तपाईंको कुरा मानेनन् भने। यदि उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्त गर्न थाल्नुभयो भने, कृपया गगनजी, ती सबै मानिस सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट निकाल्नेछन्। त्यसमा हाम्रो पनि साथ रहनेछ।”
बस्नेतले विशेष महाधिवेशनलाई ‘किर्ते’को संज्ञा दिँदै आलोचना गरे। उनले क्रियाशील सदस्यता नवीकरणको नाममा धेरै ‘नाटक’ नगर्न पनि चुनौती दिए।
उनले क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति सबै पक्षलाई मिलाएर बनाउनुपर्ने धारणा राखे।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित