
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक समीकरणका कारण निकै चर्चामा आएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा जारी बैठकमा शनिबार महासचिवसहित ९ जना पदाधिकारीहरूले आफ्नो धारणा राखेका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले महासचिव, तीन उपमहासचिव र पाँच सचिवले आ–आफ्नो कार्यक्षेत्र तथा वर्तमान राजनीतिक परिस्थितिका आधारमा धारणा राखेको जानकारी दिए।
एमाले वृत्तमा यस बैठकलाई विशेष चासोका साथ हेरिएको छ। पछिल्लो समय पार्टीभित्र विकसित राजनीतिक समीकरणका कारण अध्यक्ष केपी शर्मा ओली सचिवालयमा अल्पमतमा परेको तथा महासचिव शंकर पोखरेलसमेत पार्टी पुनर्गठनको पक्षमा खुलेको चर्चा राजनीतिक वृत्तमा भइरहेको छ।
विशेषगरी सरकारको कार्यशैली, सुशासनका मुद्दा र पार्टीको भावी दिशालाई लिएर संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभिन्नता बढ्दै गएको स्रोतहरूको दाबी छ।
यद्यपि, संस्थापन पक्षका नेताहरूले भने यस्ता चर्चालाई अस्वीकार गर्दै आएका छन्। उपमहासचिव भट्टका अनुसार नेताहरूले धारणा राख्ने क्रममा अध्यक्ष ओलीले बीच–बीचमा आवश्यक टिप्पणी र दिशानिर्देशसमेत दिएका थिए।
एमाले नेतृत्वले बैठकबारे मिडिया र राजनीतिक वृत्तमा भइरहेका प्रचारप्रति असन्तुष्टि जनाएको छ। भट्टले नियमित छलफल र अनुभव आदानप्रदानका विषयलाई अतिरञ्जित, तोडमरोड र भ्रमपूर्ण ढंगले प्रस्तुत गरिएको टिप्पणी गरे।
सचिवालयका अधिकांश पदाधिकारीले धारणा राखिसके पनि अझै चार सचिवले बोल्न बाँकी रहेको एमालेले जनाएको छ। आइतबार बस्ने बैठकमा बाँकी नेताहरूले धारणा राखेपछि मात्रै प्रस्तावित मुख्य एजेन्डा र पार्टीको आन्तरिक विवादबारे ठोस निर्णय वा आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको छ।
एमालेको सचिवालय बैठक आइतबार बिहान ११ः३० बजे पुनः अध्यक्ष ओलीकै गुण्डुस्थित निवासमा बस्ने गरी स्थगित गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित