
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जुन १–२ (जेठ १८–१९) मा भारत भ्रमणमा जाने भएका छन्।
स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणका लागि भारत जान लागेका हुन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
त्यसैगरी, उनले भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
यसअघि पनि नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई भारतले औपचारिक भ्रमणका लागि आमन्त्रण गर्ने अभ्यास रहँदै आएको छ। सोही क्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले पनि यस्ता भ्रमण गरिसकेका छन्।
भाजपा निकट एक नेताका अनुसार लामिछानेको भ्रमण नेपालका प्रमुख राजनीतिक शक्ति तथा सम्भावित सत्तारूढ नेतृत्वसँगको कूटनीतिक संवादको निरन्तरता हो।
पछिल्लो समय नेपाल–भारत सम्बन्धमा केही संवेदनशीलता देखिएको छ। विशेषगरी लिपुलेक लगायत सीमा विवादका विषय पुनः चर्चामा आएका छन्। यसबीच भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण स्थगित भएको चर्चा पनि चलिरहेको छ।
यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले भारत भ्रमणको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मिति अझै तय भएको छैन। परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमण पनि स्थगित भएको बताइएको छ।
यस्तो अवस्थामा रास्वपाका सभापति लामिछानेको भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित