
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीअन्तर्गत विभिन्न चरणका कामको समयसीमा निर्धारण गरेको हो।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ।
सार्वजनिक गरिएको कार्यतालिकाअनुसार ७७ जिल्लासहित सातै प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन प्रतिनिधिको नामावली संकलनसम्मका कार्य समेटिएका छन्।
जिल्ला तथा प्रदेश निर्वाचन समिति गठनको काम जेठ ७ गतेदेखि सुरु भई जेठ १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। त्यस्तै, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ १० गतेसम्म र स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन जेठ २० गतेसम्म सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ ३० गते तोकिएको छ भने महाधिवेशन प्रतिनिधिको नामावली जेठ २५ गतेभित्र बुझाइसक्नुपर्नेछ। साथै, प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र केन्द्रीय निर्वाचन आयोगमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
महाधिवेशनमा प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ। जेठ ७ देखि असार ५ गतेसम्म इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल तथा तयारीका लागि समय छुट्याइएको जनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङ द्वारा हस्ताक्षरित सूचनामा प्रदेश समितिका सभापतिहरूलाई आ–आफ्नो प्रदेशअन्तर्गतका जिल्ला सभापतिसँग आवश्यक समन्वय गरी कार्यतालिका अनुसार काम सम्पन्न गर्न आग्रह गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित