
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याइने बताएका हुन्।
विपक्षी दलहरूले संसद् नियमावलीअनुसार प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन्। नियमावलीमा संसद् सञ्चालन भइरहेका बेला प्रत्येक पहिलो साता प्रधानमन्त्री र सांसदबीच प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ।
यसअघि पनि विपक्षी दलहरूले यही माग राख्दै संसद् अवरुद्ध गर्दै आएका थिए। केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री उपस्थित नभए आजको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएको थियो।
हाल संसद् बैठक जारी छ। आकस्मिक, विशेष तथा शून्य समयको कार्यक्रम समाप्त हुँदासम्म प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुनेबारे सत्तापक्षले स्पष्ट जानकारी नदिए बैठक पुनः अवरुद्ध गर्ने तयारी रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताएका छन्।
विपक्षी दलहरूले जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्मा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेट सबै सांसदले शान्तिपूर्वक सुन्न सक्ने वातावरण बनाउन पनि सत्तापक्षलाई आग्रह गरेका छन्। साथै, प्रधानमन्त्री संसद्मा कहिले उपस्थित हुने भन्नेबारे स्पष्ट मिति तोक्न माग गरेका छन्।
रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याउने प्रतिबद्धता जनाए पनि ठोस मिति भने सार्वजनिक गर्न सकेनन्।
दुलालले भने, “रास्वपा प्रमुख सचेतकले आजै दुई घण्टाभित्र सरकारसँग छलफल गरेर जवाफ दिने बताउनुभएको छ। तर, प्रधानमन्त्रीलाई कुन मितिमा प्रश्नोत्तरका लागि ल्याइन्छ भन्ने स्पष्ट गर्न सक्नुभएन। खाली ‘ल्याउँछौँ’ मात्र भन्नुभएको छ।”
विपक्षी दलहरूले प्रधानमन्त्री उपस्थित हुने दिनसम्म संसद् बैठक स्थगित गर्नसमेत माग गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित