
काठमाडौं । गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं. २, ३ र ४ मा उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) पुष्टि भएको छ। संक्रमण फैलिन नदिन नगरपालिकाले तत्काल विभिन्न नियन्त्रण तथा रोकथामका उपाय लागू गरेको जनाएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौलीद्वारा जारी सूचनाअनुसार संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा, दाना लगायत रोग फैलाउन सक्ने सामग्री नष्ट गरी सुरक्षित रूपमा डिस्पोज तथा निसंक्रमण गर्ने काम भइरहेको छ।
बर्ड फ्लु मानिसमा समेत सर्न सक्ने जुनोटिक रोग भएकाले उच्च सतर्कता अपनाउन नगरपालिकाले सबै नागरिक तथा सरोकारवालासँग आग्रह गरेको छ।
नगरपालिकाले पन्छी फार्म सञ्चालन तथा व्यवस्थापनमा कडाइ गर्दै विभिन्न सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ भने आवश्यक परे निसंक्रमणपछि मात्र प्रवेश गर्न दिइने व्यवस्था गरिएको छ। साथै, एक फार्मका कामदारलाई अर्को फार्ममा जान निषेध गरिएको छ।
त्यसैगरी, प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न, फार्म प्रवेशद्वारमा निसंक्रामक पदार्थसहित फुटबाथ अनिवार्य राख्न तथा प्रत्येक प्रवेशमा निसंक्रमण प्रक्रिया अपनाउन भनिएको छ।
खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न, नियमित रूपमा खोरभित्र तथा बाहिर निसंक्रमण गर्न र कुकुर, बिरालो तथा मुसाजस्ता जनावरको प्रवेश रोक्न पनि निर्देशन दिइएको छ।
मरेका पन्छीलाई सुरक्षित रूपमा खाडलमा गाड्न, पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिन तथा मासु राम्ररी पकाएर मात्र सेवन गर्न आग्रह गरिएको छ।
यदि एक्कासि धेरै पन्छी बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा तत्काल स्थानीय तह वा पशु सेवा कार्यालयमा जानकारी दिन नगरपालिकाले अनुरोध गरेको छ।
नगरपालिकाले “सतर्क बनौं, बर्ड फ्लुबाट आफू, आफ्नो व्यवसाय र समुदायलाई जोगाऔं” भन्ने सन्देशसहित सबैलाई सहयोग गर्न आह्वान गरेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित