
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा उपस्थित नभएसम्म प्रतिनिधिसभाको बैठक अगाडि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसँग आवश्यक रुलिङ गर्न माग गरेका हुन्।
उनले सरकार र प्रधानमन्त्रीप्रति प्रश्न उठाउँदै भने, “झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ ? संसद्सँग किन टाढा भइरहनुभएको छ र किन यसलाई छल्न खोजिरहनुभएको छ ? यो आज आम नेपाली जनता र संसद्मा प्रतिनिधित्व गर्ने सबैको प्रश्न हो।”
महरले संसद्ले चयन गरेको प्रधानमन्त्री नै संविधान र संसद् नियमावलीविरुद्ध गएको आरोपसमेत लगाए।
उनले थपे, “प्रधानमन्त्री किन सदनलाई इग्नोर गर्न खोजिरहनुभएको छ ? खोपीको देउता बन्दै हुनुहुन्छ ? के प्रधानमन्त्री बालेन शाहलाई घण्टी बजाएर पूजा गर्नका लागि स्थापित गरिएको हो ? लोकतन्त्रको चीरहरण गरेर ‘बालेनतन्त्र’ स्थापना गर्न खोजिएको हो ? संविधानको मर्ममाथि प्रहार गरेर कुनै व्यक्तिकेन्द्रित शासन व्यवस्था ल्याउन खोजिएको हो ? आज यी प्रश्न गम्भीर रूपमा उठेका छन्।”
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित