जेनजी आन्दोलन छानबिन आयोगकै अध्यक्षमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगको सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नै राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धानको दायरामा राख्न सिफारिस गरेको छ ।

मानवअधिकार आयोगले तयार पारेको अध्ययन प्रतिवेदनमा पूर्वन्यायाधीश कार्कीमाथि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिइएको हो ।

कार्कीले जेनजी आन्दोलनका दौरान सामाजिक सञ्जालमा उत्तेजक र अतिरञ्जित अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो । उनलाई नै सरकारले जाँचबुझ आयोगको नेतृत्वको जिम्मेवारी दिएपछि त्यसबारे विवाद समेत उत्पन्न भएको थियो ।

मानवअधिकार आयोगले आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आशंकामा कार्कीसहित केही व्यक्तिमाथि अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ ।

आयोगले राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदन तथा सम्बन्धित व्यक्तिहरूको सामाजिक सञ्जाल गतिविधिको अध्ययनपछि प्रतिवेदनमा भनेको छ, “उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्ने विभिन्न कोणबाट टीकाटिप्पणी भएको देखिन्छ ।”

प्रतिवेदनमा भदौ २३ र २४ गते भएका घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे-नरहेको र सार्वजनिक शान्ति भंग गर्न दुरुत्साहन गरेको हो वा होइन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार