रविन्द्र ढाँट बने इतिहास रच्ने पहिलो नेपाली, रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

काठमाडौँ । नेपाली एमएमएका उदीयमान स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

चीनको मकाउमा जारी क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

‘बझाङको बाघ’ उपनामले परिचित ढाँटले दोस्रो राउण्डमै किम्बर्टलाई हराउँदै ऐतिहासिक सफलता हात पारे। रोड टु यूएफसीमा जित निकाल्ने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।

एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरलाई यूएफसीसम्म पुग्ने अवसर प्रदान गर्ने यो प्रतियोगिता निकै प्रतिष्ठित मानिन्छ।

घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका ढाँटले नेपाली एमएमएलाई नयाँ उचाइमा पुर्‍याउने आशा बढाएका छन्।

जितपछि उनले विश्वभर रहेका नेपाली समर्थकप्रति आभार व्यक्त गर्दै आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्ने बताएका छन्। उनको जितसँगै प्रतियोगितास्थलमा ‘जय नेपाल’को नारा गुञ्जिएको थियो।

ढाँटले पनि उत्साहपूर्वक ‘जय नेपाल’ र ‘जय हनुमान’ भन्दै खुसी साटेका थिए।

प्रतिक्रिया

ताजा समाचार