सशस्त्र मुख्यालयमा आगलागी : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको आगलागी घटनाबारे छानबिन गर्न डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सहप्रवक्ता (ईजी) विष्णुप्रसाद भट्टका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन समिति गठन गरी काम सुरु गरिएको हो।

‘घटनाबारे छानबिन गर्न समिति गठन गरेका छौं। समितिले काम सुरु गरिसकेको छ,’ प्रवक्ता भट्टले भने।

थापा नेतृत्वको समितिलाई कुनै निश्चित हदम्याद तोकिएको छैन। यद्यपि सकेसम्म छिटो छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

बुधबार राति करिब ८ बजे सशस्त्र प्रहरी बल मुख्यालयस्थित सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारीसाधनमा क्षति पुगेको बताइएको छ। बंगलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरी बलको मुख्यालयमा यसअघि पनि आगलागीका घटना भएका छन्। त्यसैगरी सतुङ्गलस्थित सशस्त्रको स्टोरमा समेत विगतमा आगलागी भएको थियो।

प्रतिक्रिया

ताजा समाचार