नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित

काठमाडौँ । नेपाल समूह ‘ए’ को विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ। सिङ्गापुर राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो।

यसअघि पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार पारेको थियो। नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट शतकीय इनिङ्स खेल्दै १२६ रन बनाए। उनले ५४ बलमा १४ चौका र ८ छक्का प्रहार गरे।

यो प्रतियोगितामा भुर्तेलको लगातार दोस्रो शतक हो भने टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक समेत हो। साथै, उनी लगातार दुई खेलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्।

त्यस्तै, आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको मद्दतमा ६८ रनको विस्फोटक इनिङ्स खेले। कप्तान दीपेन्द्र सिंह ऐरीले ३१ रन बनाए भने सन्दीप जोरा १५, लोकेश बम १० र कुशल मल्ल अविजित ९ रनमा रहे।

मलेसियाका भिरनदीप सिंहले ३ विकेट लिए भने विजय उनई र कप्तान सयद अजिजले समान २–२ विकेट हात पारे।

२७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमा सीमित भयो। मलेसियाका कप्तान सयद अजिजले ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। उनले ४५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। शर्विन मुनियान्डीले १८ रन तथा मोहम्मद हाजिकले १३ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका शेर मल्लले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए।

यो जितसँगै नेपाल समूह ‘ए’ को विजेता बन्दै एसियन गेम्समा स्थान सुरक्षित गर्न सफल भएको छ। मलेसिया पनि यसअघि नै प्रतियोगिताका लागि छनोट भइसकेको थियो। लगातार दोस्रो हार बेहोरेको चीन भने प्रतियोगिताबाट बाहिरिएको छ।

समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेका छन्। उक्त समूहबाट शीर्ष दुई टोलीले एसियन गेम्समा स्थान बनाउने प्रावधान रहेको छ।

प्रतिक्रिया

ताजा समाचार