
काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई सहज रूपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
आइतबार बिहान सिंगा ओभल मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हरायो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ्स खेले। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेलले २० रन बनाए भने आसिफ शेख १ रनमा आउट भए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए।
नेपालका लागि करण केसीले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट हात पारे।
अब नेपालले फाइनलमा हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र मलेसियाबीचको खेल आइतबार दिउँसो १२:१५ बजे सुरु हुनेछ।
नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित