ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका–६, लोलाङस्थित पैँयुटारमा भएको ईश्वरी भुजेल हत्या प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

ईश्वरीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनका पति ‘नेपाली ब्रो’का रूपमा परिचित कुमार थापा मगरलाई प्रहरीले हिजै बालाजुबाट पक्राउ गरेको थियो।

घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै ईश्वरीका माइती पक्षले जाहेरी दिएपछि थप तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३६ वर्षीय विक्रम थापा मगर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा तथा जुम्ला घर भई हाल गोकर्णेश्वर बस्दै आएकी २५ वर्षीया प्रतीक्षा आचार्य रहेका छन्।

उनीहरू चारै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको एसपी भट्टराईले बताए।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार