एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपाललाई, हङकङ १९ रनले पराजित

काठमाडौं । नेपालले एसियन गेम्स मेन्स क्रिकेट क्वालिफायरको उपाधि जितेको छ। फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअन्तर्गत १९ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।

नेपालले जितका लागि १८९ रनको लक्ष्य पछ्याएको थियो। वर्षाले प्रभावित खेलमा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा खेल रोकिएपछि डीएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भयो।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६५ रन बनाए। उनले ८ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेल २४ बलमा ३५ रन बनाएर अविजित रहे।

हङकङका तर्फबाट आयुष शुक्ला र मोहम्मद घजानफारले समान एक–एक विकेट लिए।

यसअघि सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। उसका लागि अंशुमान रथले सर्वाधिक ८० रन जोडे। शाहिद वसिफले ५५ रन तथा शिव माथुरले २६ रनको योगदान दिए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताबाट समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भएका छन्।

एसियन गेम्स प्रतियोगिता सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुनेछ।

प्रतिक्रिया

ताजा समाचार