
काठमाडौं । सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्टवाच नष्ट गरिएको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार परीक्षा हलभित्र भेटिएका मोबाइल तथा तिनमा रहेका डाटा जफत गरी नष्ट नगर्न/नगराउन गृहमन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो।
यस विषयमा अधिवक्ता अनिलकुमार साहलगायतले मोबाइल फोन गैरकानुनी रूपमा नष्ट गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। रिटमा परीक्षा समाप्त भएपछि जरिवाना लिएर वा अभिभावकको रोहबरमा मोबाइल फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था र अभ्यास विपरीत स्वेच्छाचारी ढंगले मोबाइल नष्ट गरिएको उल्लेख गरिएको छ।
सर्वोच्च अदालतले उक्त विषयमा लिखित जवाफ पेस गर्न सम्बन्धित निकायका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।
गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट आइफोन, एन्ड्रोइड मोबाइल र स्मार्टवाचसहित ५०० भन्दा बढी उपकरण जफत गरिएको थियो।
जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय तथा मधेश प्रदेशका शिक्षामन्त्रीको घोषणापछि प्रहरीले पानी भरिएको ड्रममा डुबाएर ती मोबाइल सामूहिक रूपमा नष्ट गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त घटनापछि चौतर्फी आलोचना हुँदै आएको छ।
रिट निवेदनमा जफत गरिएका मोबाइल तथा घडीको बजार मूल्य र तिनमा रहेका व्यक्तिगत डाटाको क्षतिको आधारमा पीडित विद्यार्थी तथा अभिभावकलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित