
धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, गाईबाँधे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा प्रहरीले सोधपुछका लागि १० जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जना गरी १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार घटनामा संलग्न वन कर्मचारीहरूसँग सोधपुछ भइरहेको छ। टेम्पो भिरबाट खसाल्ने कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम समेत जारी रहेको उनले बताए।
भीमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा सामान बिक्रीका लागि प्रयोग गर्दै आएको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
यसैबीच, डिभिजन वन कार्यालय धनगढीले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रूपमा सडक छेउमा राखिएको दाबी गरेको छ।
कार्यालयका अनुसार विगतदेखि नै उक्त छाप्रो हटाउन आग्रह गर्दा पनि अटेर भएपछि शुक्रबार बल प्रयोग गरेर हटाउने क्रममा भीरालो भूगोल र सन्तुलन नमिल्दा टेम्पो भिरमा खसेको हो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित