भीरबाट टेम्पो खसालेको घटनाको छानबिन गर्न समिति गठन

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समितिका सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन्।

गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र आलोचना बटुलेको थियो।

सचिव कोइरालाले मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै निष्पक्ष छानबिनपछि दोषी ठहरिएकामाथि आवश्यक कारबाही गरिने जानकारी दिए।

यसैबीच, घटनाबारे सोधपुछका लागि प्रहरीले १२ जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार