
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले चिया उद्योग तथा किसानका समस्याप्रति सरकारले पर्याप्त चासो नदेखाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योगी र किसानहरू गम्भीर संकटमा रहे पनि सरकारले समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको बताए। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिएको दृश्य देखिए पनि चिया उद्योग र किसानका वास्तविक समस्याप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे।
उनले भने, “मैले यो विषय सातौँ पटक उठाइरहेको छु। प्रधानमन्त्री मन्त्रीहरूलाई लिएर देश निर्माणको अभियानमा हुनुहुन्छ। सामाजिक सञ्जालमार्फत उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ भन्ने देखियो। तर वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यको तयारी चिया निर्यात हुने र अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको चिया क्षेत्रका उद्योगी तथा किसानको समस्या समाधान गर्न उहाँले समय दिनुभएको देखिएको छैन।”
राईले भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (एसओपी) का कारण नेपाली चिया निर्यात प्रभावित भएको बताए। उनका अनुसार गुणस्तर परीक्षणको प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा सामान्य समस्या देखिए पनि उत्पादित चिया नष्ट गर्नुपर्ने व्यवस्थाले उद्योगीहरू थप समस्यामा परेका छन्।
उनले उद्योगहरू बन्द हुने अवस्थामा पुगेकाले किसानले उत्पादन गरेको हरियो चियापत्ती खेर जाने, श्रमिकले रोजगारी गुमाउने तथा उद्योगीहरू बैंक ऋणको ब्याजसमेत तिर्न नसक्ने परिस्थितिको सामना गरिरहेको बताए। साथै, चिया क्षेत्रको समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने उनको माग थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित