
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश जारी गरेको हो।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेकाले दुवैलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो।
यस मुद्दामा ३९ प्रतिवादीमध्ये ३४ जना व्यक्ति र पाँच वटा कम्पनी रहेका छन्। अभियोगपत्रमा भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरिएको छ। त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ तथा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ।
प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते र गोल्छालाई वैशाख १० गते पक्राउ गरेको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि तयार पारिएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४/७५ मा भट्टको स्वामित्वमा रहेको घरजग्गाको पुनर्मूल्यांकनमार्फत ३५ करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम थप सम्पत्तिका रूपमा देखाइएको उल्लेख छ।
अभियोगपत्रमा भट्टकै इन्फिनिटी होल्डिङ्स प्रालिमा आर्थिक वर्ष २०७७/७८ मा ४५ करोड रुपैयाँ तथा आर्थिक वर्ष २०७९/८० मा थप ९ करोड ५० लाख रुपैयाँ पुँजी वृद्धि गरिएको दाबी गरिएको छ। उक्त रकम बैंकिङ कसुर तथा कर्जा अपचलनबाट प्राप्त स्रोतमार्फत लगानी गरिएको आशंका अनुसन्धानबाट गरिएको छ।
भट्ट, अग्रवाल तथा अन्य प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा धितोपत्र तथा बीमा कसुरसम्बन्धी मुद्दा र पाटन उच्च अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित