
काठमाडौँ । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जवाफ दिन खोजेपछि प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीले समय तोक्ने र जवाफ दिने व्यवस्था नियमावलीमा भए पनि त्यसले राम्रो सन्देश नदिने बताएका हुन्।
उनले भने, “उपनियम ९ ले सम्बन्धित मन्त्रीले जवाफ दिने व्यवस्था गरेको छ। रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्रीकै मातहतमा छन्। यस्तो अवस्थामा प्रधानमन्त्रीले अधिकार प्रत्यायोजन गर्नुभएको होला, तर त्यो अधिकार स्थायी रूपमा हस्तान्तरण गरिएको त होइन होला।”
बरालले हालको अवस्थामा अर्थमन्त्रीले दिएको जवाफ स्वीकार्य हुने बताए।
उनले थपे, “प्रधानमन्त्री र उहाँसँग सम्बन्धित मन्त्रालयको जवाफ दिने जिम्मेवारी स्थायी रूपमा अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो ? यदि प्रधानमन्त्रीले नयाँ ढङ्गले जिम्मेवारी बोध गराउन खोज्नुभएको हो भने हामी उहाँको कुरा सुन्न तयार छौँ। तर यदि त्यस्तो होइन भने नियमलाई सही ढङ्गले बुझ्न आवश्यक छ।”
बरालको आपत्तिपछि सभामुखले प्रधानमन्त्रीले अधिकार दिएर पठाएकै आधारमा अर्थमन्त्रीले जवाफ दिने स्पष्ट पार्दै बैठकको कार्यसूची अगाडि बढाएका थिए।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित