ममता बनर्जीको पार्टीमा ठूलो विभाजन, अध्यक्ष पदबाट हटाइएको दाबी

एजेन्सी । भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा पराजयपछि तीन कार्यकालसम्म मुख्यमन्त्री रहेकी ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसमा गम्भीर मतभेद र विभाजन देखिएको दाबी गरिएको छ।

ममता बनर्जीले सन् १९९८ मा भारतीय राष्ट्रिय कांग्रेसबाट अलग भएर तृणमूल कांग्रेस गठन गरेकी थिइन्। यही दलको नेतृत्व गर्दै उनले सन् २०११ को विधानसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को ३४ वर्ष लामो शासन अन्त्य गर्दै पश्चिम बंगालमा सरकार गठन गरेकी थिइन्।

त्यसपछि सन् २०१६ र २०२१ को निर्वाचनमा पनि बहुमत प्राप्त गर्दै ममता लगातार तीन कार्यकाल मुख्यमन्त्री बनेकी थिइन्। तर, २०२६ को विधानसभा निर्वाचनमा पराजय भोगेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको बताइएको छ।

निर्वाचनमा हारपछि ममताले आफूलाई पार्टी अध्यक्ष तथा संसदीय दलको नेता घोषणा गरेकी थिइन्। तर, ऋतव्रत बनर्जीको नेतृत्वमा ५८ विधायकले विद्रोह गर्दै छुट्टै संसदीय दल गठन गरेको र ममताको पक्षमा २० विधायक मात्र बाँकी रहेको दाबी गरिएको छ।

मंगलबार कोलकातामा सम्पन्न बैठकमा बहुमत विधायकहरूले ममता बनर्जीलाई पार्टी अध्यक्ष पदबाट हटाएर अनुप रायलाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेका छन्।

७१ वर्षीया ममता बनर्जीले उपयुक्त समयमा पार्टी नेतृत्व आफ्ना भतिजा अभिषेक बनर्जीलाई हस्तान्तरण गर्ने तयारी गरिरहेकी थिइन्। तर, चुनावी हारपछि अभिषेकको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै नेता–कार्यकर्ताहरूले विद्रोह गरेको बताइएको छ।

यसैबीच, विद्रोही समूह पश्चिम बंगालको प्रमुख विपक्षी शक्तिका रूपमा उभिएको दाबी गरिएको छ। यसको प्रभाव लोकसभा संसदीय दलसम्म पुगेको बताइँदै तृणमूल कांग्रेसका २८ सांसदमध्ये २० जना नयाँ दल नेसनल सिटिजन पार्टी अफ इन्डिया (एनसीपीआई) मा आबद्ध भएको उल्लेख गरिएको छ।

उक्त दलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई समर्थन गर्दै राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा सहभागी हुने निर्णयसमेत गरेको जनाइएको छ।

सन् २०२२ मा दर्ता भएको एनसीपीआई हाल २० सांसदको समर्थनसँगै भारतीय लोकसभाको पाँचौं ठूलो दल बनेको दाबी गरिएको छ। तृणमूल सांसद काकोली घोष दास्तीदारलाई एनसीपीआईको अध्यक्ष तथा संसदीय दलको नेता चयन गरिएको बताइएको छ।

विद्रोही समूहले ममतासँगै अभिषेक बनर्जीलाई पनि पार्टी महासचिव पदबाट हटाउने निर्णय गरेको जनाएको छ।

यद्यपि, ऋतव्रत बनर्जी नेतृत्वको विधानसभाको बहुमत पक्ष र एनसीपीआईमा आबद्ध लोकसभा सदस्यहरूबीचको कानुनी सम्बन्ध अझै स्पष्ट भइसकेको छैन। ऋतव्रत समूहले भने आफूहरू नै तृणमूल कांग्रेसको आधिकारिक पक्ष भएको दाबी गर्दै पार्टीको नाम र चुनाव चिह्नमाथि अधिकार माग गरेको छ।

यी घटनाक्रमसँगै तृणमूल कांग्रेसको भविष्यबारे विभिन्न अड्कलबाजी सुरु भएका छन्। ममता–अभिषेक समूह भारतीय राष्ट्रिय कांग्रेसमा विलय हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार