
काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ।
डालास स्टेडियममा आइतबार बिहान सम्पन्न समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दै ९ अंकसहित समूह विजेताका रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले एक–एक गोल गरे। जोर्डनका लागि मुसा अल–तमारीले सान्त्वना गोल फर्काए।
खेलको १९औँ मिनेटमा लो सेल्सोले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ३१औँ मिनेटमा मार्टिनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको अग्रता २–० बनाए।
दोस्रो हाफको ५५औँ मिनेटमा अल–तमारीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काउने प्रयास गरे। तर दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे।
यसअघि अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३–० तथा दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो।
समूह ‘जे’ मा अर्जेन्टिनाले तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थान हासिल गर्यो। समान ४–४ अंक रहेका अल्जेरिया र अष्ट्रिया क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगे। जोर्डन भने तीनै खेलमा पराजित हुँदै अंकविहीन रह्यो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित