
सुर्खेत । दैलेखमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भीरमा अड्किएको अवस्थामा एक जनाको शव फेला पारेर निकालिएको हो। यसअघि प्रहरीले एक यात्रुलाई अचेत अवस्थामा उद्धार गरिएको जनाएको थियो।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, सांगेताडास्थित कर्णाली राजमार्गमा बिहीबार बिहान करिब ११:३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनापछि बेपत्ता यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल, गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली परिचालन गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौरका अनुसार उक्त गाडी बिहीबार बिहान ८ बजे सुर्खेत बसपार्कबाट छुटेको थियो। बसपार्कबाट पाँच जना यात्रु चढेको पुष्टि भएको र बाटोबाट पनि केही यात्रु चढेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए।
‘गाडी कर्णाली नदीमा डुबेको अवस्थामा छ,’ प्रवक्ता राठौरले भने, ‘उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन सशस्त्र प्रहरीका गोताखोर टोलीलाई पनि परिचालन गरिएको छ।’
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित