महानगरविरुद्ध जाहेरी दिन प्रहरीमा पुगे गणेश नेपालीका परिवार

काठमाडौं । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउन प्रहरी वृत्त कालिमाटी पुगेका छन्।

प्राप्त जानकारीअनुसार मृतक नेपालीका परिवारले काठमाडौं महानगरपालिका तथा घटनास्थलमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी दर्ता गर्ने तयारी गरेका छन्।

प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेशकुमार सिंहका अनुसार परिवारका सदस्य सोमबार बिहानै जाहेरीका विषयमा छलफल गर्न प्रहरी कार्यालय पुगेका थिए। कानुन व्यवसायीको परामर्शअनुसार उनीहरूले ज्यानसम्बन्धी कसुरमा जाहेरी तयार पार्न लेखापढी व्यवसायीकहाँ गएको उनले जानकारी दिए।

‘हामीकहाँ अहिलेसम्म जाहेरी प्राप्त भएको छैन। उहाँहरू जाहेरी तयार गराउन जानुभएको छ,’ डीएसपी सिंहले भने, ‘जाहेरी आएपछि दर्ता हुने वा नहुने, कसलाई प्रतिवादी बनाइएको छ र त्यसको आधार के हो भन्ने विषयमा त्यसपछि मात्रै भन्न सकिन्छ।’

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि गणेश नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले त्यसमा ह्वील लक लगाएका थिए। त्यसपछि नगर प्रहरी र नेपालीबीच विवाद भएको थियो। केहीबेरपछि नेपालीले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नो शरीरमा खन्याई आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार