
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनुवाइसम्बन्धी कार्यविधिबमोजिम १० दिनको समय दिएर उजुरी आह्वान गरिनेछ। यसका लागि आगामी कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्न समिति सचिवालयलाई निर्देशन दिइएको उनले बताए।
केही दिनअघि बसेको न्यायपरिषद्को बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेसँगै प्रस्तावित न्यायाधीशहरूको नियुक्ति प्रक्रियाले अर्को चरणमा प्रवेश गरेको छ। उजुरीमाथिको अध्ययन र सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नियुक्तिबारे निर्णय गर्नेछ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित