
काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ।
गत असोज १९ गते निलम्बनमा परेका दाहाललाई बर्खास्त गर्न एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले सिफारिस गरेको हो। समितिले बिहीबार नै आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार दाहाल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका झापाका इनम सापकोटाबीच सम्पर्क देखिएको थियो। दाहालले सापकोटाको ह्वाट्सएपमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को गतिविधिसम्बन्धी सूचना पठाएको खुलेको स्रोतको दाबी छ।
यस घटनालाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयले दाहाललाई बर्खास्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
‘देशको कार्यकारी प्रमुखको गतिविधिबारे अनधिकृत व्यक्तिलाई सूचना दिएको देखिएको छ। यो पुष्टि नै भएको कुरा हो। बर्खास्तकै तयारी छ,’ उच्च स्रोतले भन्यो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित