
जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर प्रवेशका क्रममा आइतबार विरोध भएपछि तनाव उत्पन्न भएको छ। मन्दिर परिसरमा धकेलाधकेलको अवस्था सिर्जना भएपछि उनले दर्शन नगरी फर्किएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साम्पाङ आज बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि पुगेका थिए। तर, उनी मन्दिर प्रवेश गर्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच धकेलाधकेल भएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाले सम्भावित झडप हुन सक्ने अवस्था देखिएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न नदिइएको जनाएको छ।
यसअघि हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको थियो। त्यसपछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै मन्दिर क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रहरीका अनुसार विवाद बढ्न थालेपछि दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाइएको थियो। घटनापछि केही समय मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
घटनापछि साम्पाङले फेसबुकमार्फत प्रतिक्रिया दिँदै, “जनकपुरमा तनाव, तर गृहमन्त्रीको फोन अफ,” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित