
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिँदा सडक किनारका व्यापारिक स्टलमा समेत क्षति पुगेको छ।
इमाडोलस्थित ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहका अनुसार सडक भासिँदा उनको मात्रै करिब डेढ लाख रुपैयाँ बराबरको सामानमा क्षति पुगेको छ।
साहले केही दिनअघिदेखि नै सडक किनारमा चिरा देखिन थालेको र विस्तारै भासिन थालेको बताए। उनका अनुसार बुधबार सडकको करिब १५ मिटर भाग एकैपटक भासिँदा पाँचवटा पसल रहेको ट्रससमेत क्षतिग्रस्त भएको छ।
‘सडक किनारमा केही दिनदेखि नै समस्या देखिएको थियो। हिजो त करिब १५ मिटर सडक नै भासियो,’ उनले भने, ‘पाँचवटा पसल रहेको ट्रस पनि क्षतिग्रस्त भएको छ।’
उनले घटनाबारे महालक्ष्मी नगरपालिकालाई जानकारी गराइसकेको र नगरपालिकाले मर्मत गर्ने आश्वासन दिएको बताए।
सडक भासिएको स्थान साविक इमाडोल गाविस–३ को वडा कार्यालय रहेको मन्दिर नजिकै पर्छ। घटनाको कारणबारे सम्बन्धित निकायले थप अध्ययन गरिरहेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित