
बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिने भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय समितिले यसअघि नै असारको अन्तिममा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो। तर लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा दिएका थिएनन्। शनिबार एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने लिखित सहमति भएपछि भने कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा पुगेका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन्।
उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले एमालेले नेकपासँग सत्ता सहकार्यको लिखित सहमति गरेपछि कांग्रेस सरकारबाट बाहिरिने बताए।
‘सबै मन्त्रीहरू बसेर सकेसम्म आजै राजीनामा बुझाउँछौं,’ उनले भने, ‘हामी सरकारबाट बाहिरिएपछि उहाँहरूले बहुमत जुटाउन नसके मात्रै कांग्रेसले सरकार गठनको प्रयास गर्छ।’
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले पनि पार्टीको निर्देशन आएलगत्तै राजीनामा दिने बताए। उपचारका लागि काठमाडौंमा रहेका उनले संसदीय दलबाट औपचारिक निर्देशन नआएको उल्लेख गर्दै पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए।
नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि एमाले–नेकपा गठबन्धनलाई लुम्बिनी प्रदेशसभामा सामान्य बहुमत पुग्ने देखिएको छ।
८७ सदस्यीय प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका ३, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका २ तथा जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद छन्।
एमाले र नेकपा मिल्दा ४२ सांसद पुग्ने भएकाले सरकार गठनका लागि आवश्यक सामान्य बहुमत पुग्छ। पूर्व माओवादी पृष्ठभूमिका स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले पनि यो गठबन्धनलाई समर्थन गर्नेमा दुवै दल विश्वस्त छन्।
हाल १२ मन्त्रालय रहेको प्रदेश सरकारलाई आठ मन्त्रालयमा सीमित गर्ने व्यवस्था नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ।
गत वर्ष साउन ७ गते चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त हुँदा एमाले र कांग्रेसबीच २०८१ चैतसम्म एमालेले सरकारको नेतृत्व गर्ने र त्यसपछि बाँकी कार्यकाल कांग्रेसले नेतृत्व गर्ने सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नभएको तथा बजेट निर्माणका क्रममा विवाद चुलिएपछि कांग्रेसले असार ३१ गते एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित