परिस्थिति तनावग्रस्त बनेपछि सुनसरीमा सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यूका बीच आगजनी र तोडफोडका घटना भएपछि नेपाली सेना परिचालन गरिएको छ।

देवानगञ्ज घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्किएसँगै सुरक्षा अवस्था जटिल बनेपछि प्रशासनले सेना परिचालन गरेको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार कर्फ्यू लागू गरिएका क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।

बिहानदेखि कर्फ्यूको अवज्ञा गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएपछि अवस्था थप तनावग्रस्त बनेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिए पनि बढ्दो भीड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नुपरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।

बख्तरबन्द गाडीसहित सेनाको सशस्त्र टोली कप्तानगञ्ज क्षेत्रमा परिचालन गरिएको छ।

आइतबार राति दुई समुदायबीच तनाव उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना घाइते भएका छन्।

घटनापछि सुनसरीको लौकही, जिल्ला सदरमुकाम इनरुवा लगायतका क्षेत्रमा पनि प्रदर्शन जारी छ। कप्तानगञ्ज, देवानगञ्ज र हरिनगर क्षेत्रमा स्थानीयवासी कर्फ्यू उल्लंघन गर्दै समूह–समूहमा प्रदर्शनमा उत्रिएका छन्।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू पनि सुनसरी झिकाइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगञ्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार