नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्।

नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए।

चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक सेवा पनि प्रभावित भएको छ। डा. सिंहका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए।

चिकित्सकमाथि आक्रमणमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासन पाएपछि उनीहरू प्रमुख जिल्ला अधिकारीको कार्यालयमा छलफलका लागि पुगेका थिए। तर, वार्ताका क्रममा वातावरण एकाएक तनावपूर्ण बनेको उनको दाबी छ।

उनका अनुसार नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने धारणा राखेपछि सीडीओ आक्रोशित बने। त्यसलगत्तै सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपमानजनक भाषा प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाए।

डा. सिंहले भने, “हामी वार्ताबाट बाहिर निस्कँदै गर्दा प्रहरी परिचालन गरेर चिकित्सकलाई घेरा हालियो। मोबाइल फोन खोसियो र फेरि कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखियो। हामीसँग अपराधीजस्तै व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुग्यौं।”

उनका अनुसार प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्।

“सबै चिकित्सकले राजीनामा दिएपछि आकस्मिक सेवा कसले सञ्चालन गर्ने? अहिले अस्पतालको सेवा लगभग ठप्प भएको छ,” उनले बताए।

उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान दोहोर्‍याए।

“अस्पतालभित्र चिकित्सक कुटिन्छन्, वार्ताका लागि बोलाएर प्रशासनले नै धम्क्याउँछ भने सुरक्षित कार्य वातावरण कसरी हुन्छ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिँदैन,” डा. सिंहले भने।

यता, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि प्रशासनबाट भएको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आवश्यकता अनुसार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

गत साउन ८ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि पनि आक्रमण भएको थियो। घटनाका क्रममा अस्पतालमा तोडफोडसमेत गरिएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौंमा उपचार भइरहेको छ।

उक्त घटनाका दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशभर ओपीडी सेवा बन्द गरी आन्दोलन जारी राखेका छन्।

प्रतिक्रिया

ताजा समाचार