कपिलवस्तुमा ट्रकले किच्दा एक बालकसहित तीन जनाको मृत्यु

रूपन्देही । कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज सडकखण्डअन्तर्गत महाराजगञ्ज नगरपालिका–२, गैडहवा चोक नजिक ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ।

बुधबार बिहान बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा बोकेको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ का १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ता रहेका छन्।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भई पैदलयात्री र साइकलयात्रीलाई किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार