
काठमाडौं। पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोपछि उद्धारमा खटिएको स्थल टोलीले चार जना पर्वतारोहीको शव फेला पारेको छ।
पर्यटनमन्त्री खडकराज पौडेल (गनेस) का अनुसार हालसम्म चारवटा शव फेला परेका छन्। यद्यपि, ती शवको राष्ट्रियता र पहिचान अझै पुष्टि हुन सकेको छैन।
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हालसम्म चारवटा शव फेला परेको र पहिचान खुल्न बाँकी रहेको बताएका छन्।
हेलिकप्टर तथा स्थल उद्धार टोलीहरूले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। बेपत्ता रहेका सबै आरोही सकुशल फेला पर्ने आशासहित उद्धार अभियान जारी रहेको मन्त्री पौडेलले उल्लेख गरेका छन्।
पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले पनि स्थल उद्धार टोलीले चारवटा शव बरामद गरेको जानकारी दिएका छन्। उनले इन्स्टाग्राममार्फत उक्त जानकारी सार्वजनिक गरे पनि शव फेला परेको विषयमा आधिकारिक पुष्टि भने अझै हुन बाँकी रहेको बताएका छन्।
ब्रड पिकमा आएको हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोही सम्पर्कविहीन छन्। तीमध्ये ६ जना नेपाली रहेका छन्।
बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तानी सेनाको हेलिकप्टरसहित स्थल उद्धार टोली परिचालन गरिएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित