
विराटनगर। सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका दुई जनाका परिवार शव बुझ्न तयार भएका छन्। मोरङ प्रहरीको समन्वयपछि शव बुझ्ने प्रक्रिया सुरु भएको मोरङका प्रहरी उपरीक्षक कविद् कट्टुवालले जानकारी दिए।
उनका अनुसार हाल मुचुल्का उठाउने काम भइरहेको छ। शव हस्तान्तरणपछि पोस्टमार्टम गरी आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ।
यसअघि गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिअनुसार मृतकका परिवारले हिजो शव बुझ्ने र आज अन्त्येष्टि गर्ने निर्णय गरेका थिए। सोहीअनुसार उनीहरू शव बुझ्न विराटनगर आएका थिए।
तर, विराटनगर पुगेपछि सिराहा गोलीकाण्डमा मृत्यु भएका परिवारसँग पनि गृहमन्त्रीले सम्झौता गर्नुपर्ने नयाँ माग उठेपछि उनीहरूले शव नबुझी पुनः सुनसरी फर्किएका थिए।
पछि मोरङ प्रहरीको समन्वयमा पुनः छलफल भएपछि मृतकका परिवार शव बुझ्न सहमत भएका हुन्।
गत आइतबार राति देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो।
उक्त घटनामा घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा हिजो मृत्यु भएको थियो। दुवै जनाको शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने र आजै अन्त्येष्टि गरिने जनाइएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित