
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई पदबाट हटाउन पार्टीको संस्थागत निर्णय आवश्यक पर्ने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष स्पष्ट अडान राखेका छन्।
मंगलबार साँझ गुन्डुमा भएको भेटमा मुख्यमन्त्री कार्कीले केही महिनामै प्रदेश सरकारको कार्यकाल सकिने अवस्थामा आफूलाई किन हटाउन खोजिएको भन्दै नेतृत्व परिवर्तनको औचित्यमाथि प्रश्न उठाएका हुन्।
स्रोतका अनुसार कार्कीले अध्यक्ष ओलीलाई पार्टीको औपचारिक निर्णय भए त्यसलाई तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै भने, “संस्थागत निर्णय भएपछि म एक सेकेन्ड पनि पदमा बस्दिनँ।”
उनले पछिल्लो समय एमालेभित्र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कमिटीमार्फत निर्णय गर्न आग्रह गरेका थिए।
मुख्यमन्त्री कार्कीसँग भेटअघि अध्यक्ष ओलीले एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छुट्टै छलफल गरेका थिए। त्यसपछि कार्कीसँग नेतृत्व परिवर्तनबारे प्रत्यक्ष संवाद भएको एमाले स्रोतले जनाएको छ।
एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा नेतृत्व परिवर्तन गरी संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरिरहेको बताइएको छ। तर मुख्यमन्त्री कार्कीले पार्टीको औपचारिक निर्णयबाहेक राजीनामा नदिने अडान कायम राखेका छन्।
यसैबीच, मंगलबारको भेटपछि अध्यक्ष ओलीले बुधबार मुख्यमन्त्री कार्कीसहित एमाले कोशी प्रदेशका पदाधिकारी र प्रदेश नेतृत्वसँग सामूहिक छलफल गर्ने कार्यक्रम तय भएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित