
काठमाडौं । पाकिस्तानस्थित ब्रड पिकमा आएको हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सफलतापूर्वक उद्धार गरी आधार शिविरमा ल्याइएको छ।
निम्सदाइको कम्पनी एलिट एक्स्पेडका अनुसार अत्यन्त कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारै जनाको शव सुरक्षित रूपमा आधार शिविरमा पुर्याइएको हो।
उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए। स्थलमा खटिएको सिरबाज खानसहितको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ।
कम्पनीले उद्धार अभियान सफल बनाउन सहयोग गर्ने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘निम्सको शव स्वदेश फर्काउनु केवल एक पर्वतारोहीको उद्धार मात्र होइन, एक पति, पिता, छोरा, दाजुभाइ, साथी तथा एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, निम्सदाइ स्टोर र स्काइडाइभ निम्सदाइको केन्द्रबिन्दुलाई घर फर्काउने प्रयास हो।’
निम्स, झोङ, निमा र किलुको शव अब परिवारसम्म पुग्ने अन्तिम यात्रामा अघि बढेकाले केही राहत महसुस भएको कम्पनीले जनाएको छ।
साथै, अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था सिर्जना भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ।
गत बिहीबार विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा आएको हिमपहिरोमा परी १० जना पर्वतारोही बेपत्ता भएका थिए। उनीहरू सबैको निधन भएको पुष्टि भइसकेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित