
महोत्तरी। महोत्तरीको चुरे क्षेत्रमा पर्ने गढन्ता खोलामा अचानक आएको बाढीले बगाउँदा बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुप्रसाद तिमिल्सिनाका अनुसार बस्नेतको शव खोजीका क्रममा फेला परेको हो।
पारिवारिक स्रोतका अनुसार बस्नेत मङ्गलबार अपराह्न करिब ३ बजे खोला किनारको खेतमा राखिएको विद्युतीय मोटर निकाल्न खोलातर्फ जानुभएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटर निकाल्ने क्रममा एक्कासि आएको बाढीले उहाँलाई बगाएको थियो। घटनापछि गरिएको खोजीका क्रममा करिब पाँच घण्टापछि घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको डीएसपी तिमिल्सिनाले जानकारी दिनुभयो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित