पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी

रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको छ। घटनामा कुनै मानवीय क्षति भएको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर अनियन्त्रित भई पल्टिएपछि आगलागी भएको हो। ट्याङ्करमा करिब १२ हजार लिटर पेट्रोल रहेको बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनापछि ट्याङ्करमा तत्काल आगो लागेको भए पनि चालक सकुशल रहेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो।

दुर्घटनापछि सुरक्षाका दृष्टिले घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। घटनास्थलको सुरक्षा व्यवस्था सुदृढ पारिएको तथा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

दुर्घटनापछि केही समय उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै आवागमनलाई क्रमशः सहज बनाएको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार