
काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईं डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुन लागेको नयाँ राजनीतिक दलमा ‘सर्वोच्च नेता’ बन्ने भएका छन्। पार्टीको नाम ‘जय नेपाल पार्टी’ प्रस्ताव गरिएको स्रोतले जनाएको छ।
राप्रपाका पूर्वमहामन्त्री धवलशम्शेर राणाले पार्टीबाट राजीनामा दिएपछि प्रसाईंसँग सहकार्य गर्दै नयाँ दल गठनको तयारी गरेका हुन्।
स्रोतका अनुसार पार्टीको विधान तयार भइसकेको छ भने केन्द्रीय कार्यालय चाबहिलमा राखिएको छ। निर्वाचन चिन्ह भने अझै टुंगो लागेको छैन।
पार्टीमा प्रसाईंलाई ‘सर्वोच्च नेता’ को सम्मानजनक भूमिका दिइने भए पनि वरीयतामा उनी अध्यक्ष धवलशम्शेरपछि रहनेछन्। पार्टीको नेतृत्व र सञ्चालन भने अध्यक्षकै रूपमा धवलशम्शेरले गर्ने बताइएको छ।
एक नेताले भने, “पार्टीको नेतृत्व धवलजीले नै गर्नुहुन्छ। दुर्गा प्रसाईंलाई सम्मानस्वरूप ‘सर्वोच्च नेता’ को जिम्मेवारी दिइएको हो।”
यसअघि प्रसाईंलाई ‘सर्वोच्च कमाण्डर’ बनाउने तयारी गरिएको थियो। तर त्यसमा उनी सहमत नभएपछि ‘सर्वोच्च नेता’ को पद दिने सहमति भएको स्रोतको दाबी छ।
स्रोतका अनुसार आगामी निर्वाचनपछि प्रसाईंलाई पार्टीको संसदीय दलको नेता बनाउने विषयमा समेत प्रारम्भिक समझदारी भइसकेको छ।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित