इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसहित ११ जनाविरुद्ध पक्राउ पूर्जी

काठमाडौं। सरकारी स्वामित्वमा पुगिसकेको स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गर्न स्वीकृति दिएको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित ११ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

प्रहरी स्रोतका अनुसार अध्यक्ष पाण्डे हाल अमेरिकामा छन् भने पक्राउ पूर्जी जारी भएका अन्य अधिकांश सञ्चालक सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यस प्रकरणमा पक्राउ अनुमति लिन प्रहरीले गत शुक्रबार अदालतमा निवेदन दिएको थियो। अदालतबाट अनुमति प्राप्त भएपछि खोजी तथा अनुसन्धान अघि बढाइएको हो। स्रोतका अनुसार प्रहरीले बैंकका सञ्चालकहरू र दुई व्यवस्थापकसहित ११ जनाविरुद्ध पक्राउ पूर्जीको अनुमति मागेको थियो।

अनुसन्धानका क्रममा सञ्चालकमध्ये मदन आचार्य भने प्रहरीको सम्पर्कमा आएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बयान दिइसकेका छन्। उनले सम्पत्ति लिलाम गर्ने निर्णय भएको बोर्ड बैठकमा उपस्थित भए पनि उक्त निर्णयमा असहमति जनाउँदै हस्ताक्षर नगरेको बयान दिएका छन्।

यसअघि यही प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष भूपेन्द्रबहादुर भण्डारी पक्राउ परिसकेका छन्। पक्राउ पूर्जी जारी भएका सबै व्यक्तिको बैंक खाता पनि रोक्का गरिएको छ।

केही दिनअघि अर्थमन्त्रीसँग भएको छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले अनुसन्धानका नाममा सञ्चालकहरूलाई धरपकड गर्न खोजिएको संकेत गरेका थिए। सीईओ पाण्डे स्वयं पनि यसै मुद्दामा पक्राउ परेका थिए। पछि सर्वोच्च अदालतले हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका थिए।

बैंकको सञ्चालक समितिका अधिकांश सदस्य प्रहरीको खोजी सूचीमा परेपछि बैंकको नियमित निर्णय प्रक्रिया र प्रशासनिक कामकाजसमेत प्रभावित भएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार