
विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी धरौटीमा रिहा भएकै दिन पुनः पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि गिरीले बिहीबार धरौटी रकम बुझाएर छुटेका थिए। रिहा भएलगत्तै मोरङ प्रहरीले उनलाई आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धानका लागि पुनः पक्राउ गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार गिरीलाई काठमाडौंबाट विराटनगर ल्याइएको छ। उनीविरुद्ध मोरङमा आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइने उनले बताए।
विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुलेको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा गत असार २३ गते गिरीलाई विराटनगरबाट पक्राउ गरेको थियो। त्यसअघि उनी मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा असार १३ गते पक्राउ परेका थिए। उक्त मुद्दामा जिल्ला अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएपछि उनलाई सोही दिन सीआईबीले पुनः पक्राउ गरेको थियो।
सीआईबीको अनुसन्धानबाट गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकालिएको थियो। सोही अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १४ गते काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाएर छुटेलगत्तै उनी मोरङ प्रहरीको नियन्त्रणमा परेका हुन्।
2026 swatantrapath.com सर्वाधिकार सुरक्षित